२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

स्मार्ट टेलिकम अनियमिततामा मेरो संलग्नता प्रमाणित भए राजनीतिबाट बिदा लिन्छुः सांसद खरेल

२८ वैशाख, काठमाडौं ।  प्रतिनिधिसभा सदस्य जगदीश खरेलले आफूलाई स्मार्ट टेलिकमको अनियमिताका नाममा अनावश्यक रूपमा मुछिएको भन्दै दुःखेसो गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले आफू सभामुख डोलप्रसाद अर्याल र पार्टीका सभापति रवि लामिछानेलाई जानकारी दिएर कार्यक्रमको सन्दर्भमा स्वीटजरल्याण्ड गएको अवस्थामा आफूलाई स्मार्ट टेलिकमको भ्रष्टाचारका विषयमा मुछेर आएका समाचारप्रति खेद व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता खरेलले त्यस्ता अपुष्ट र गलत समाचार पुष्टि गर्न सम्बन्धित सञ्चारमाध्यमलाई चुनौती दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रेस काउन्सिल नेपालको पनि ध्यानाकर्षण गर्नुभयो ।

‘स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा मलाई जोडेर सुटुक्क स्वीट्जरल्याण्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, भ्रामक र सी ग्रेडको पत्रकारिता पनि भन्न नसुहाउने हिसाबमा जसरी समाचार प्रकाशित गरियो,’ खरेलले भन्नुभयाे, ‘यसले मेरो मान, सम्मान, इज्जत, राजनीतिक जीवन, समग्र संसद् र मेरो पार्टीभित्र अपमान गरेको महसुस गरेको छ । यो संसद्मा रेकर्ड रहोस् भनेर यसको खेद र भर्त्सना गर्न चाहन्छु ।’

उहाँले भन्नुभयाे , ‘म चुनौती दिन चाहन्छु, स्मार्ट टेलिकम प्रकरणमा मैले एउटा मिटिङ, फाइल पारित गर्ने, मन्त्रालय वा सम्बद्ध कुनै निकायसँग एउटा बैठक मात्रै गरेको रहेछु भने मैले मेरो राजनीतिक जीवनबाट सधैं बिदा लिन चाहन्छु ।’

प्रकाशित मिति : 14:48