२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

वकिलबाट सीधै सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने प्रावधान हटाउनुपर्छः विष्णु रिजाल

२७ वैशाख, काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले वकिलबाट सीधै सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने प्रावधान नै खारेज हुनुपर्ने बताउनुभएको छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तिमा गरेको सिफारिसमा अनेक टिप्पणीहरू सार्वजनिक भैरहेको समयमा रिजालले सहभागिता जनाउँदै वकिलबाट सीधै सर्वोच्चको न्यायाधीश हुने प्रावधान नै हटाउनुपर्ने बताउनुभएको हो ।

dainiki.com

एक्समा टिप्पणी राख्दै बहसमा प्रवेश गर्नुभएको रिजालले अहिलेको अवस्थामा राजनीतिक दलकामा नलागेका मानिसहरू न्यायाधीश हुन नै असम्भव रहेको दाबी गर्नुभएको छ । रिजालले भन्नुभएको छ, ‘नेपालमा यति धेरै राजनीतिकरण छ कि कुनै पनि दलमा नलागेको व्यक्ति सर्वोच्चमा सीधै न्यायाधीश नियुक्त हुन सम्भव नै छैन ।’

यस्तो छ रिजालको टिप्पणी

न्यायाधीशहरु नै हडतालमा उत्रिने देशमा कुन न्यायाधीशले के बोल्छ र कस्तो फैसला गर्छ भन्ने कुरा त मोटामोटी सबैलाई अनुमान नै हुन्छ । सर्वोच्च अदालतलाई सीधा राजनीतिकरणबाट अलिकति भए पनि टाढा राख्न र निर्मित बरिष्ठता (constructed seniority) को विवाद कम गर्न वकिलबाट सीधै सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने प्रावधान नै हटाउनुपर्छ । किनभने, नेपालमा यति धेरै राजनीतिकरण छ कि कुनै पनि दलमा नलागेको व्यक्ति सर्वोच्चमा सीधै न्यायाधीश नियुक्त हुन सम्भव नै छैन । वकिलबाट न्यायाधीश नियुक्त गर्दा उच्च अदालत (पुनरावेदन) तहमा मात्र गर्नुपर्छ । त्यसरी नियुक्त न्यायाधीशको सर्वोच्च अदालतसम्म पुग्दा अनुभव र स्वीकार्यता दुबै बढ्छ । अन्यथा, २० बर्षसम्म क–कसलाई प्रधान न्यायाधीश बनाउने भनेर सेटिङ गरेर, उमेर हेरेर न्यायाधीश नियुक्त हुँदा हामीले जुत्ता बाहिरै फुकालेर आएका छौँ भन्दैमा कसैले पत्याउँदैन । कुन बेला कसलाई व्यक्तिगत रुपमा के असर पर्दछ भनेर होइन, न्यायालयलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्न दीर्घकालीन रुपमा उपाय अपनाउनुपर्छ ।

प्रकाशित मिति : 07:03