२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

प्रधानन्यायाधीश सिफारिसमा उपसभामुखको हस्ताक्षर खेदपूर्णः हर्क साम्पाङ

२५ वैशाख, काठमाडौं ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा उपसभामुख रुवीकुमारीले हस्ताक्षर गरेकोप्रति आपत्ति जनाउनुभएको छ । सरकारले विधि र पद्धति मिचेर गरेको नियुक्तिमा पार्टीबाटै जानुभएकी उपसभामुखले समेत हस्ताक्षर गरेकोप्रति असन्तुष्टि जनाउनुभएको हो ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले राष्ट्रप्रमुखलाई दबाब दिएर अध्यादेश जारी गराउनु र वरीयता मिचेर नियुक्ति गर्नुलाई सरकारको ठूलो गल्तीको संज्ञा दिनुभएको छ ।

‘संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिई संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गराउनु गलत थियो । गलत कार्यलाई कदापि सही भन्न सकिन्न र भन्न हुँदैन,’ उहाँले लेख्नुभएको छ, ‘वरीयताले चौथोलाई प्रधानन्यायाधीश नियुक्त गर्नु अर्को ठूलो गल्ति गरेको छ यो सरकारले ।’

उहाँले जनतालाई थिति र सुशासनको आश्वासन दिएर आएको रास्वपाले विधि मिचेर गरिरहेको कार्यलाई समर्थन गर्न नसक्ने पनि उल्लेख गर्नुभएको छ। यस्ता नियुक्तिले राजनीतिक तथा कानूनी स्वार्थ राखेको हुन सक्ने उहाँको भनाइ छ।

‘सहकारी ठगी प्रकरण, भदौ २३-२४ को जेनजी आन्दोलन जस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउन यो नियुक्ति दिइएको हुन सक्ने आशंका प्रशस्त देखिन्छ, नियुक्तिसम्बन्धी बैठकको क्रममा नयाँ नयाँ एक ठाउँमा आउनु पर्नेदेखि एमसिसी, एसपिपी जस्ता विषय समेतको प्रसंग ल्याई दबाब र प्रभाव सृजना गरिएको अवस्थामा हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरीयताको क्रमलाई उलङ्घन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ। यसरी विधिलाई मिचेर राजनीतिलाई अघि सार्ने चलनको सदासर्वदा श्रम संस्कृति पार्टी विरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : 12:47