२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

विद्यार्थी र कर्मचारी संगठन दलका ‘स्लिपर सेल’ बनेः प्रधानमन्त्री बालेन

२२ वैशाख, काठमाडाैं ।  प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट पूर्ण रूपमा मुक्त गर्ने घोषणा गर्नुभएकाे छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गर्नुभएकाे छ ।

सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभएकाे छ, ‘देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो । शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो ।’ ‘धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्, ‘विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो,’ उनले लेखेका छन्, ‘वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बने । योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो । यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर नगरेको उहाँको भनाइ छ। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्ने पनि उहाँले बताउनुभएकाे छ ।

‘तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो, शिक्षालयमा दलको झण्डा निषेध। कर्मचारीतन्त्रमा दलको झोला निषेध। यसले अधिकार खोस्दैन, बरु पेसागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ’ उहाँले भन्नुभएकाे छ ।

उहाँले अगाडि भन्नुभएकाे छ, ‘विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन। कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन। हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून्, कुनै दलको होइन।’

उहाँले जनताकै चाहनाअनुरुप अध्यादेशमार्फत विकृति हटाएकाे बताउनुभएकाे छ । उहाँले भन्नुभएकाे छ, ‘हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाईंको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ । हामी तपाईंहरुकै जनचाहना बमोजिम काम गर्न सरकारमा आएका हौँ । तपाइहरु ढुक्क हुनुस्, हामी जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौँ ।’

प्रकाशित मिति : 09:31