१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

दीपक भट्ट संलग्न कम्पनीका संस्थापक सेयरधनीलाई १५ दिनभित्र विवरण पेस गर्न आह्वान

१७ वैशाख, काठमाडाैं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको हिमालयन रिइन्स्योरेन्ससँगै ८ वटा बीमा कम्पनीको लगानी अनुसन्धान गर्ने भएको छ ।

विभागले भट्ट संलग्न विभिन्न कम्पनीका संस्थापक सेयर खरिद गर्ने व्यक्तिहरूसँग सम्बन्धित सम्पूर्ण विवरण पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ। अनुसन्धानका क्रममा अध्ययन प्रयोजनका लागि आवश्यक विवरण संकलन गर्न यो सूचना जारी गरिएको विभागले जनाएको छ।

सूचनाअनुसार नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स, लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स, प्रोटेक्टिभ इन्सुरेन्स कम्पनी, स्टार माइक्रो इन्सुरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी तथा हिमालयन रिइन्सुरेन्स कम्पनीको संस्थापनाकालमा संस्थापक सेयर खरिद गरेका व्यक्तिहरूको विवरण माग गरिएको छ।

यी कम्पनीका सेयरधनीहरूलाई आफूले आधिकारिक रूपमा सेयर खरिद गरेको र पैसा भुक्तान गरेको प्रमाण  १५ दिनभित्र पेस गर्न विभागले भनेको हो । ‘बीमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने समयमा उल्लेखित कम्पनीहरूमा संस्थापक शेयर खरिद गर्ने संस्थापक शेयर खरिद गर्ने महानुभावहरूले चुक्ता पुँजीबापत कम्पनीमा भुक्तानी गरेको वाहेक अतिरिक्त शुल्क (प्रिमियम) वापत विभिन्न व्यक्ति तथा संस्थाहरूको बैक खातामा बुझाएको रकमका हकमा के कति रकम को कसको नाममा रहेको, के कति नम्बरको, के, कुन बैंक तथा वित्तीय संस्थाको खातामा, के कुन जम्मा गरेको हो ? भन्ने समेतका विवरण फरक नपर्ने गरी विभागकाे कार्यालयमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बुझाउन अनुरोध गरिन्छ ’ विभागले जारी गरेकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : April 30, 2026 at 2:26 pm