तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिनुभएकाे छ । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै गुरुङले पार्टी केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाउनुभएकाे हाे ।
उहाँले आगामी दिनमा ठोस राजनीतिक परिकल्पना र स्पष्ट कार्यदिशासहित पार्टीप्रति पूर्ण निष्ठावान् भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ । २०७८ साल फागुन ९ गते तरुण दलको अध्यक्षमा नियुक्त भएका गुरुङले पार्टीले दिएको जिम्मेवारीका लागि निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान केन्द्रीय कार्यसमितिप्रति आभार प्रकट गर्नुभएकाे छ ।
राजीनामा पत्रमा पार्टीले २०८३ मंसिर मसान्तभित्र पाँचौँ महाधिवेशन सम्पन्न गर्ने समय सीमा तोकेको भए तापनि देशको पछिल्लो राजनीतिक घटनाक्रमले उत्पन्न असहज परिस्थितिका कारण महाधिवेशन सम्पन्न गर्न नसकिएको गुरुङले स्वीकार गर्नुभएकाे छ ।

प्रकाशित मिति : 17:21









