बलिदानमा काम गर्नेले पारिश्रमिक पाएनन्
१६ वैशाख, काठमाडाैँ । गत दशैँमा प्रदर्शन भएको चलचित्र बलिदानमा काम गरेकहरूले पारश्रमिक नपाएको पाइएको छ । पटक पटक अनुरोध गर्दा समेत पारिश्रमिक नपाएपछि चलचित्रका निर्देशक सन्तोष सेन र कार्यकारी निर्माता प्रेम पुरीलाई मेन्सन गरेर फेसबुक मार्फत पारिश्रमिक माग्ने अभियान सुरू भएको छ ।
चलचित्रमा प्राविधिक काम गर्नुभएको सरोज बुढाथोकीले पारिश्रमिकका लागि गरेको पटक पटकको अनुरोध सेन र पुरीले वेवास्ता गरेपछि फेसबुक मार्फत पारिश्रमिक माग्नुभएको हो । उहाँले भन्नुभएको छ, ‘मैले तपाईंहरूको फिल्म “बलिदान” मा पारिश्रमिक लिन्छु भनेर काम गरेको हो। तपाईंहरूको फिल्म मा श्रमदान गर्न काम गरेको होइन । र तोकिएको पारिश्रमिक मैले समय मै पाउनु पर्ने थियो । तर फिल्म रिलिज भयो र आजको दिन सम्म आइपुग्दा पनि मैले आफ्नो पाउनुपर्ने बाँकी पारिश्रमिक पाएको छैन । म यो क्षेत्र मा काम गर्न लागेको धेरै भयो तर कुनै प्रोड्युसर डाइरेक्टर फिल्म निर्माण कम्पनी बाट यस्तो भएको थिएन।जुन तपाईहरुबाट भयो र यसरी कहिले पोस्ट गर्नु जरुरत पनि परेको थिएन । तर आज म बाध्य भएको छु प्रेम पुरी, सन्तोष सेन सर तपाईंहरू ले कहिले बुझ्ने ? म जस्तो प्राविधिकको बेथा श्रमदान गराएर फिल्म बनाउने योजना थियो भने हो भन्नुस् मलाई चाइएन । होइन भने मैले पाउनुपर्ने पैसा चाहियो नत्र म कानुनी निकाय मा यो समस्या लिएर जानेछु। तपाईंहरूको इज्जत छ भने अलिकति भएनी आफ्नो इज्जतको ख्याल राख्नुहोला। मैले पाउनु पर्ने रकम मेरो बैंक को क्यूआर मा हाल्नु होला।’

समीर भट्ट अभिनीत फिल्म ‘बलिदान’ नेपाल र अमेरिकामा एकसाथ रिलिज भएको थियो । निर्देशकले रिलिजको समयमा अमेरिकाका दुई सयभन्दा बढी हलहरूमा एक हजारभन्दा बढी शोसहित फिल्म प्रदर्शन हुने बताउनुभएको थियो । सेनकै दाबी मान्दा पहिलोपटक नेपाली फिल्म बलिदान अमेरिकाको सबभन्दा ठूलो सिनेमा चेन एएमसीमा प्रदर्शन भएको थियो । चलचित्र २०८२ असोज १३ गते देखि प्रदर्शन भएको थियो ।
‘बलिदान’ मा समीरसहित सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय रहेको थियो । आशुसेन फिल्म्सको प्रस्तुतिमा रहेको बलिदानको पवन ब्राडफोर्ड बिस्ट निर्माता रहेको छ ।

प्रकाशित मिति : 07:09









