१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

१४ वैशाख, काठमाडौं । सरकारले सुकुमवासी बस्तीका विद्यार्थीलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बस्ती स्थान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणबारे ६ बुँदे सर्कुलर जारी  गर्नुभएकाे छ ।

त्यसैअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरण हुँदा विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित बस्तीमै रहेका विद्यालय समायोजन तथा समन्वयलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ । आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म जान आवश्यक सहजीकरण गर्न र विद्यालय नै प्रभावित भएको ठाउँमा वैकल्पिक व्यवस्था गर्न गराउन अनुरोध गरेको छ।

सुकुम्वासी वस्तिका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित अन्य कुनै गुनासो, समस्या या सुझाव भए पनि केन्द्रमा पठाउन स्थानीय तहहरूलाई मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित मिति : 14:20