११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

गुराँस लघुवित्तको नाफा ४८ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

११ वैशाख, काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४ करोड ३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.७४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले २ करोड ७१ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

याे अवधिमा कम्पनीकाे खुद ब्याज आम्दानी पनि ४९.५७ प्रतिशतले वृद्धि भएको छ । संस्थाले तेस्रो त्रैमाससम्ममा १३ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले ८ करोड ९२ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

 समीक्षा अवधिसम्म संस्थाले ५ करोड ५३ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ९ लाख २२ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ५८ करोड ४७ लाख र कर्जा प्रवाह २ अर्ब १७ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ३ करोड २१ लाख रहेको छ । यस्तै संस्थाको लाभांश क्षमता ३०.३९ प्रतिशत रहेको छ ।

कम्पनीकाे खराब कर्जा अनुपात बढेर ३.४१ प्रतिशत पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीकाे खराब कर्जा अनुपात ३.०१ प्रतिशत रहेको थियाे । समीक्षा अवधिसम्म कम्पनीकाे प्रतिसेयर आम्दानी ४०.६२ रुपैयाँ,प्रतिसयर नेटवर्थ १६८.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.३१ गुणा रहेको छ ।

प्रकाशित मिति : 10:53