यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरू
८ वैशाख, काठमाडाैँ । आजको मन्त्रिपरिषद् बैठकले ५ वटा निर्णय गरेको छ । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले निर्णयहरू सार्वजनिक गर्नुभएकाे हाे ।
सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्नुका साथै विभिन्न कानुन संशोधनसम्बन्धी विधेयकहरू सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन गरिएको छ। उक्त समितिले धितोपत्र बोर्डको नयाँ अध्यक्ष चयनका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछ।

त्यसैगरी, सरकारले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। साथै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेका विधेयकहरू पनि संसदमा पेश गर्न अनुमति प्रदान गरिएको छ।
यसैबीच, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य (प्युठान) नियुक्त भएका छन् भने सदस्यहरूमा नवराज सिम्खडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर) लाई मनोनयन गरिएको छ।
प्रकाशित मिति : April 21, 2026 at 5:11 pm









