८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

माउन्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने

८ वैशाख, काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ८ करोड ६० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ८ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। उक्त सेयरमध्ये ३ लाख ४४ हजार कित्ता सेयर अति प्रभावित क्षेत्र, सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरुमा बाँडफाँड गरिनेछ भने बाँकी ५ लाख १६ हजार कित्ता प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिकाका १ र २ बाहेक अन्य वडाहरुका स्थायी बासिन्दाहरुमा बाँडफाँड गरिनेछ।

साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ७२ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७२ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा वैशाख ३१ गते हुनेछ भने ढिलोमा जेठ १८ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गते हुनेछ।

 कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, स्थानिय बासिन्दाहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:32