७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग

७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन प्रारम्भ गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्रीमाथि लागेका आरोपहरूको ढाकछोप गरिए जनविश्वासमाथि गम्भीर आघात पुग्ने बताएको छ । आज प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै भन्नुभएकाे छ, ‘नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ— गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरून्त प्रारम्भ गरियोस्। यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउनेछ।’

कांग्रेसले कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकबाटै मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने स्पष्ट निर्णय गरिसकेको जानकारी समेत गराएकाे छ ।

गृहमन्त्री गुरूङसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासोमात्र नभएर राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको कांग्रेसले जनाएको छ ।

‘यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।’

प्रकाशित मिति : 13:30