नेपाल लाइफद्वारा व्यतीत बीमालेख पुनर्जागरणमा शतप्रतिशतसम्म छुटको व्यवस्था
७ वैशाख, काठमाडाैं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा व्यतीत भएका बीमालेखहरू पुनःसक्रिय गर्ने उद्देश्यसहित विशेष योजना सार्वजनिक गरेको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार, वर्तमान आर्थिक चुनौतीका कारण निष्क्रिय भएका बीमालेखहरूलाई सहज रूपमा पुनर्जागरण गर्न प्रोत्साहन गर्ने हेतुले ‘विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३’ लागू गरिएको हो। यस योजना अन्तर्गत २०८३ साल वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा अधिकतम १०० प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

कम्पनीका अनुसार, ३० दिनको सीमित अवधिका लागि ल्याइएको यस योजनाबाट लाभ लिन बीमितहरूलाई आग्रह गरिएको छ। बीमालेख निष्क्रिय हुँदा बीमितको आर्थिक सुरक्षा प्रभावित हुने भएकाले समयमै नवीकरण गरी निरन्तर सुरक्षा सुनिश्चित गर्न कम्पनीले अनुरोध गरेको छ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बीमितहरूको हितलाई ध्यानमा राख्दै योजना ल्याइएको बताएका छन्। उनले विभिन्न परिस्थितिका कारण बीमालेख व्यतीत हुन सक्ने यथार्थलाई स्वीकार गर्दै यस्तो छुटमार्फत पुनः बीमा सुरक्षाको दायरामा ल्याउने प्रयास गरिएको उल्लेख गरे।
प्रकाशित मिति : 13:00









