६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

जेनजी आन्दोलनको विद्रोही स्वरलाई संगीतमा उन्‍दै बफिन्स ९८ः ‘हाम्रो आवाज नयाँ नेपाल’ म्यूजिक भिडियो सार्वजनिक

७ वैशाख, काठमाडौं । पोखरेली सांगीतिक समूह ‘बफिन्स ९८’ले जेन–जी पुस्ताको आन्दोलन र विद्रोहलाई समेटेर आफ्नो नयाँ सांगीतिक कोसेली ‘हाम्रो आवाज – नयाँ नेपाल’ दर्शक तथा स्रोतामाझ ल्याएको छ। यस म्युजिक भिडियोले विशेषगरी २०८२ साल भाद्र २३ गते देशैभरका युवाहरूले परिवर्तनको खातिर उठाएको बुलन्द आवाज र सडक संघर्षलाई जीवन्त रूपमा प्रस्तुत गर्ने जमर्को गरेको छ।

बढ्दो भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धलगायतका सरकारी कदमको विरोधमा उत्रिएका युवाहरूको कथालाई यस गीतले मुख्य विषयवस्तु बनाएको छ। सरकारले नागरिकका असन्तुष्टिलाई नजरअन्दाज गरेपछि स्वतःस्फूर्त रूपमा सडकमा आएका जेन–जेड पुस्तामाथि भएको निर्मम दमन, अन्धाधुन्द गोली प्रहार र त्यसबाट दर्जनौं युवाले ज्यान गुमाउनुपरेको तथा घाइते भएको कारुणिक यथार्थलाई गीतको पृष्ठभूमिमा उनिएको छ। “म काठमाडौंको धूलोमा लुकेको चिठी हुँ, त्यो चिठी जो कहिल्यै पढिएन” जस्ता मार्मिक शब्दहरूमार्फत राज्यसत्ताले नसुनेको युवाहरूको क्रन्दन र नयाँ नेपालको सुस्पष्ट परिकल्पनालाई कलात्मक ढंगले उजागर गरिएको छ।

दुई दशकदेखि प्रवासमा रहेर पसिना बगाइरहेका गायक सञ्जीव गुरुङको शब्द तथा स्वर रहेको यस गीतले युवाहरूलाई आफ्नै माटोमा फर्किएर देश निर्माणमा जुट्न आह्वान गरेको छ। यसअघि पनि ‘हाम्रो देश नेपाल’, ‘म मरे पनि’, ‘रुँदै छ कर्णाली भूमि’, ‘जब घामको पहिलो झुल्का’ र ‘बरबरी आँसु’ जस्ता दर्जनौं कालजयी देशभक्तिपूर्ण र सामाजिक चेतका गीत पस्किसकेको यस समूहले देश परिवर्तनको अपरिहार्यतालाई पुनः एकपटक सांगीतिक धूनमार्फत प्रस्ट्याएको छ। गीतको संगीत संयोजन गायक गुरुङ र सुमन तामाङले संयुक्त रूपमा गरेका हुन् भने पोखरास्थित एपोस्टल रेकर्डिङ स्टुडियोमा सुमन तामाङले नै यसको ध्वनि मिश्रण गरेका हुन्।

यस गीतको म्युजिक भिडियो पनि उत्तिकै अर्थपूर्ण र सान्दर्भिक बनेको छ। जेन-जी आन्दोलनमा देखिएको युवा उभार, विभिन्न कलाकारहरूले कलामार्फत जनाएको ऐक्यबद्धताका साथै हिमाल, पहाड र तराईका आम नेपालीको श्रम र जीवनशैलीलाई भिडियोमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ। ब्यान्डकै बेस गितारिस्ट तथा दुई दशकदेखि वृत्तचित्र निर्माण एवं स्वतन्त्र फोटो पत्रकारितामा सक्रिय जीवन भाइले आफ्नो लेन्समा कैद गरेका समग्र नेपालका दृश्यहरूलाई यस भिडियोमा सजाएका छन्। भिडियोको निर्देशन र सम्पादनको जिम्मेवारी पनि उनैले निर्वाह गरेका छन्।

‘हाम्रो आवाज – नयाँ नेपाल’ केवल एउटा सांगीतिक प्रस्तुति मात्र नभएर जेन-जी आन्दोलनका अमर सहिद, घाइते र तिनका परिवारप्रतिको भावपूर्ण सम्मान भएको ब्यान्डले जनाएको छ। सुशासन, सकारात्मक परिवर्तन र भ्रष्टाचारमुक्त समाज निर्माणको सपना बोक्ने सम्पूर्ण नेपाली युवाहरूप्रति यो सांगीतिक सिर्जना समर्पित गरिएको छ।

प्रकाशित मिति : April 20, 2026 at 12:49 pm