७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

अध्यक्षबाट घोक्रेठ्याक हुने डरले आत्तिएका ओलीले विशाल मार्फत दिन खोजेको सन्देश

६ वैशाख, काठमाडौँ । नेकपा एमालेको अध्यक्षबाट घोक्रेठ्याक लगाउन आफ्नै भनिएका नेताहरू नै लागि परेपछि केपी शर्मा ओली केही आत्तिनुभएको छ । कहिले प्रचण्डसँग एकता र कहिले विद्या भण्डारीसँग पुनः निकटताको संकेत परीक्षण गराइरहनुभएको छ ।

पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, पूर्व उपमहासचिवद्धय पद्रीपकुमार ज्ञवाली र विष्णु रिमालसहितका नेताहरू नै आफूलाई एमाले अध्यक्षबाट घोक्रेठ्याक लगाउने अभियानमा लागेको चालपएपछि ओलीले फरक फरक परीक्षण गरी त्यसको तरङ्ग हेर्दै हुनुहुन्छ ।

dainiki.com

हिरासतको अस्पतालबाट मुक्त भएपछि  नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटमा पार्टी एकताको कुरा भएको भन्दै ओलीले नै रणनीतिक रूपमा सूचना चुहाउनु भएको थियो । लगत्तै उहाँले विष्णु र शंकरहरूलाई डर देखाउन मदन भण्डारी फाउण्डेसनले चलाएको मदन भण्डारी कलेजमा मदन जयन्तीको नाममा पूर्व राष्ट्रपतिसँग जनसंगठनको भेला गराउनुभयो । जुन एमालेको पछिल्लो निर्णय र ओलीको अभिव्यक्तिविरूद्धको कदम थियो ।

मदन भण्डारी कलेजमा मदन जयन्तीको नाममा पूर्व राष्ट्रपतिसँग भएको जनसंगठनको भेला ।

पूर्वराष्ट्रपति भण्डारी माथि शत्रुतापूर्ण व्यवहार गरेर सार्वजनिक मञ्चबाट पटक पटक अपमान गर्नुभएको ओलीले एमाले सचिव भानुभक्त ढकालको नेतृत्वमा जनवर्गीय संगठनका सबै अध्यक्षलाई मदन जयन्तीको बहानामा भण्डारीसँग भेट गराउनुको ओलीको स्वार्थ भनेको विष्णु शंकरहरूमा त्रास बाँड्नु नै थियो । तर विष्णु पौडेल र प्रदीप ज्ञवालीले प्रचण्डवाला ओलीको परीक्षणमा सार्वजनिक रूपमै आपत्ति जनाउनुभयो । जसको प्रतिक्रिया ओलीले विशाल भट्टराई मार्फत आइतबार सार्वजनिक गराउनुभयो । जसमा ओलीले व्याख्यात्मक टिप्प्णी दिनुभएको छ ।

विशाल मार्फत फेसबुकमा सार्वजनिक भएको ओलीको अभिव्यक्ति ।

विशाल मार्फत सार्वजनिक भएको ओलीको अभिव्यक्तिमा प्रचण्ड र नारायकाजी श्रेष्ठसँग पार्टी एकतासँग सम्बन्धित कुरा नभएको उल्लेख गर्नुभएको छ भने पार्टी एकतै हुँदैन जा जसरी पनि हुनुपर्छ भन्ने अतिवाद कायम राख्न हुन्न भन्ने सन्देश पनि छ । भट्टराईले ओलीसँगको तस्बिर समेत सार्वजनिक गरेर उल्लेख गर्नुभएको टिप्पणीमा ओलीले भन्नुभएको छ, ‘नेकपाका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ लगायतका धेरै नेताहरु स्वास्थ्यलाभको कामना गर्न अस्पताल आउनुभएको हो , पार्टी एकता सम्बन्धी कुनै कुरा भएको छैन । तर पार्टी एकता कहिल्यै पनि हुदैन वा जसरी पनि र जस्तोसुकै अवस्थामा पनि हुन्छ भन्ने दुबै गलत कुरा हुन ।’

त्यसअघि पूर्वउपमहासचिव ज्ञवालीले फेसबुक मार्फत प्रचण्ड र ओलीको बीचमा एकताको कुरा भएको सन्दर्भमा तिखो टिप्पणी गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘कुनै संस्थागत निर्णय भएको थाहा छैन, तर मिडियातिर ‘वामपन्थी एकता’ को चर्चा सुरू भएछ । पहिलो त, आजको चुनौती वामपन्थी या कम्युनिस्ट आन्दोलनको दायरामा मात्र सीमित छैन । नेपालले लामो प्रयत्न पश्चात् आर्जेको प्रगतिशील लोकतान्त्रिक स्पेस नै साँघुरिँदै गएर सर्वसत्तावादी शासकीय शैलीतिर उन्मुख हुँदै गरेको, सामाजिक सुरक्षा र न्यायसहितको लोककल्याणकारी आर्थिक प्रणाली होइन, नवउदारवादी बजार स्वच्छन्दतातिर आर्थिक दिशा सोझिँदै गरेको र स्थापित विधि, कानुनी प्रणाली र लोकतान्त्रिक संस्थाहरूको ठाउँमा स्वेच्छाचारिता र ुतिलस्मी नायक’ हरूले जादुमयी ढङ्गले सुनौला दिन ल्याइदिने विभ्रमले समाजको ठुलै हिस्सा प्रभावित भएको समयमा हामी छौँ । त्यसैले सङ्कटलाई फराकिलो क्यानभासमा राखेर हेरिनु पर्छ र तदनुरूपकै नीति अवलम्बन गरिनु पर्छ ।’

ज्ञवालीले सार्वजनिक गरेको टिप्पणी ।

त्यस्तै उहाँले अहिले खाँचो आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने हो भन्दै अघि भन्नुभएको थियो, ‘अर्को, यतिबेला वामपन्थीहरू सहित सबै पार्टीहरू समीक्षाको प्रक्रियामा छन् । धक्का एमालेले पनि खाएको छ, दर्जन बढी समूह ‘एकीकृत’ गरेर बनेको नेकपाले पनि । ‘विद्रोह’ गरेर बनेका संयुक्त या प्रलोपाहरूले पनि । समस्या एउटै छैन र समाधानको रेसिपी पनि एउटै हुन सक्दैन । यस्तो अवस्थामा पहिलो कदम भनेकै सङ्कटको गांभीर्यबोध, निर्मम आत्मसमीक्षा र व्यापक सुधाररपुनर्गठनको विधिवत् प्रक्रिया अगाडि बढाउनु हो । पहिले आफू तङ्ग्रिएपछि मात्रै सार्थक विमर्श र विषयगत सहकार्यको अर्थ हुन सक्छ । अन्यथा यस्ता छलफल या त बौद्धिक विलासितामा सीमित हुन्छन्, या आफ्नो घरभित्रका समस्या छिमेकतिर सारिदिने दाउपेचमा रूपान्तरित हुन जान्छन् । अहिलेको खाँचो आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने हो ।’

ज्ञवालीको टिप्पणीको भोलिपल्ट उपाध्यक्ष पौडेलले पनि यस विषयमा टिप्पणी गर्नुभएको थियो । जहाँ पौडेलले भन्नुभएको थियो,  ‘नेकपा (एमाले)का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गभीर समिक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो । यस् यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कस्ले, किन चलाईरहेका हुन् !’

पाैडेलले गरेको सार्वजनिक टिप्पणी ।

ज्ञवाली र पौडेल दुबैले यो टिप्प्णी मिडियामा सार्वजनिक भएका सूचना र समाचारको आधारमा मात्र थिएन आन्तरिक सूचना पुनःपुष्टिसहितको थियो । त्यसकारण पार्टी अध्यक्षबाट घोक्रेठ्याक लगाउने अभियानमा लागेका दुई नेताबाट सार्वजनिक भएको अभिव्यक्ति ताप कम गराउन ओलीले आइतबार विशाल मार्फत प्रचण्डसँग एकताको कुनै कुरा भएको छैन भनेर टिप्पणी सार्वजनिक गराउनुभएको अनुमान गर्न सकिन्छ । पौडेलले निर्वाचनमा पराजय लगत्तै ओलीलाई एमालेबाट हटाउनुपर्ने विषयमा फेसबुकमै टिप्प्णी लेख्नुभएको थियो । पछिल्लो समय उहाँले पार्टीका बहुमत पदाधिकारीलाई यसमा सहमत गराउनुभएको छ भने विशेष महाधिवेशनका नाममा दाबब दिन गुप्त रूपमा हस्ताक्षर अभियान समेत चलाइरहनुभएको छ ।

प्रकाशित मिति : 07:32