सुकुम्बासीको उठिबास र विद्यार्थी अधिकारमा हस्तक्षेप नगर्न सरकारलाई नेकपाको चेतावनी
६ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सरकारका पछिल्ला गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै सुकुम्बासी परिवारमाथि जबरजस्ती उठिबास नगर्न चेतावनी दिएको छ। पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै उचित बसोबास र जीविकोपार्जनको विकल्प बिना सुकुम्बासीलाई हटाउने कार्य अमानवीय भएको उल्लेख गरेकाे छ ।
यस्ता कदमले पीडित परिवार मात्र नभई सीमान्तकृत समुदायको जनजीवनमा नकारात्मक असर पर्ने विज्ञप्तिमा उल्लेख छ। सुकुम्बासी व्यवस्थापनका लागि पुनर्वासको ठोस योजना बिना कुनै पनि कदम नचाल्न सरकारलाई आग्रह गरिएको छ।
त्यसैगरी, बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न पनि पार्टीले माग गरेको छ। विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयास संविधान र लोकतान्त्रिक मूल्यविपरीत भएको भन्दै त्यसप्रति कडा आपत्ति जनाइएको छ।
पार्टीले लोकतान्त्रिक गणतन्त्रमा नागरिक तथा विद्यार्थीलाई संगठन गर्ने अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गर्दै ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति पनि चिन्ता व्यक्त गरेको छ।
साथै, वर्तमान सरकारलाई सुशासन, सामाजिक न्याय र समृद्धिको जनअपेक्षा पूरा गर्न जिम्मेवार बन्न आग्रह गर्दै शासन सञ्चालनमा देखिएका एकपक्षीय निर्णय सच्याउन पनि पार्टीले माग गरेको छ।

प्रकाशित मिति : 15:03









