३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

अनेरास्ववियुको केन्द्रीय कार्यालय चलाउन अमृत क्याम्पस कमिटीले चन्दा दिने

३ वैशाख, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय कार्यालय भाडा तिर्न नसक्दा बन्द हुन पुगेको विषयप्रति अनेरास्ववियु अमृत क्याम्पस समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

समितिले जारी गरेको विज्ञप्तिमा उपाध्यक्ष विवेक कोइरालाले संगठनको केन्द्रीय संरचनाजस्तो महत्वपूर्ण अंग आर्थिक अभावका कारण प्रभावित हुनु अत्यन्त दुःखद र चिन्ताजनक भएको उल्लेख गर्नुभएको छ । केन्द्रीय कार्यालय बन्द हुनुले संगठनको समग्र गतिविधिमा असर पार्ने भन्दै यसलाई तुरुन्त समाधान गर्नुपर्ने आवश्यकता कोइरालाले देखाउनुभएको छ ।

अनेरास्ववियु अस्कल कमिटीको विज्ञप्ति र विज्ञप्तिमा हस्ताक्षर गर्ने उपाध्यक्ष कोइराला ।

वर्तमान परिस्थितिमा केन्द्रीय समितिले कार्यालयको भाडा व्यवस्थापन गर्न नसक्ने अवस्था आएमा अमृत क्याम्पस समिति आफ्ना सदस्यहरूबाट स्वेच्छिक सहयोग (डोनेसन) संकलन गरी केन्द्रीय कार्यालयका लागि उपयुक्त स्थानमा नयाँ कार्यालय व्यवस्थापन गर्न प्रतिबद्ध रहेको जनाएको छ।

संगठनको सुदृढीकरण, निरन्तरता तथा प्रभावकारी सञ्चालनका लागि आवश्यक सबै प्रकारका सहयोग गर्न आफूहरू सधैं अग्रसर रहने उल्लेख गर्दै समितिले यस विषयमा सम्बन्धित निकायहरूको यथाशीघ्र ध्यानाकर्षण हुनुपर्ने अपेक्षा गरेको छ।

प्रकाशित मिति : 21:28