३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

सुरेन्द्र पाण्डे को प्रश्नः ‘वाम एकता’ कि स्वार्थको खेल ?

३ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले पछिल्लो समय पार्टीभित्र उठिरहेको ‘वाम एकता’ को बहसमाथि प्रश्न उठाउनुभएको छ । उहाँले नेतृत्वमाथि संकट आएको भन्दै फेरि एकताको पहल भइरहेको भन्दै त्यसप्रति असन्तुष्टि जनाउनुभएको हो ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता पाण्डेले विगतमा पद प्राप्तिका लागि गरिएको एकताले सकारात्मक परिणाम दिन नसकेको स्मरण गराउनुभएको छ । उहाँले अहिले पुनः केही नेताहरू आफ्नो कमजोर हुँदै गएको राजनीतिक अस्तित्व जोगाउन एकताको पक्षमा लागेको टिप्पणी गर्नुभएको छ ।

उहाँले पार्टी एकता स्पष्ट विचार, सिद्धान्त र दीर्घकालीन लक्ष्यका आधारमा हुनुपर्ने बताउनुभएको छ। सीमित व्यक्तिको स्वार्थका लागि गरिने एकताले पार्टीको मूल्य, मान्यता र पहिचान कमजोर बनाउने उहाँको भनाइ छ।

dainiki.com

पाण्डेले नेपाल कम्युनिष्ट पार्टी ९एमाले० आफैँ बलियो ऐतिहासिक विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै तात्कालिक राजनीतिक लाभभन्दा दीर्घकालीन सुदृढीकरणमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

उहाँले अहिलेको आवश्यकता पार्टीको पुनर्निर्माण, दक्ष तथा क्षमतावान व्यक्तिहरू विशेषगरी युवाहरूलाई पार्टीमा आकर्षित गर्ने रहेको औंल्याउनुभएको छ। यसो नगरे पार्टी झन् साँघुरिँदै जाने चेतावनी समेत दिनुभएको छ ।

विगतमा वैचारिक आधारबिना गरिएको एकताको परिणाम ‘तीतो’ भएको उल्लेख गर्दै पाण्डेले त्यतिबेला मौन बस्नु गल्ती भएको स्वीकार गर्नुभएको छ। अब पनि नबोल्ने हो भने त्यो गम्भीर भूल हुने उहाँले बताउनुभएको छ ।

उहाँले पार्टीलाई सत्ता र स्वार्थको गणितभन्दा माथि उठाएर विधि, सुशासन र परिणाममुखी नेतृत्वतर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रकाशित मिति : 08:45