जेनजी आन्दोलनको मुख्य दिशानिर्देश भ्रष्टाचार निवारणः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी
१ वैशाख, काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी नयाँ वर्ष भ्रष्टाचार निवारण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा तदारुकता र समृद्धिका लागि आधार वर्षका रूपमा रहने विश्वास व्यक्त गर्नुभएको छ । नयाँवर्ष २०८३ को उपलक्ष्यमा दिनुभएको सन्देशमा उहाँले आमनेपालीको उन्नति र प्रगतिका लागि नयाँ वर्ष विशेष वर्षका रूपमा स्थापित हुन सकोस् भनी कामना गर्नुभएको छ ।
नेपाली राजनीतिक इतिहासमा प्रजातन्त्र र जनअधिकारका लागि पटकपटक क्रान्ति र आन्दोलन भएको स्मरण गराउँदै पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “भ्रष्टाचार निवारण र सुशासनको विषय प्रतिबद्धतामा रह्यो, व्यवहारमा सार्थक भएन ।”
जेनजी आन्दोलनले दिएको मुख्य दिशानिर्देश भ्रष्टाचार निवारण र सुशासन भएको बताउँदै उहाँले आन्दोलनकारीको बलिदानपूर्ण अमूल्य रगतको मर्म र भावनाअनुरूप अघि बढ्नु नेपाली मात्रको कर्तव्य र दायित्व भएको स्पष्ट पार्नुभयो ।
पूर्वप्रधानन्यायाधीशसमेत रहनुभएका रेग्मीले भन्नुभयो, “सरकारको कार्यशैली सकारात्मक दिशातिर उन्मुख छ । सुशासन भनेको विधिको शासन हो । नववर्षले सबैमा नयाँ उत्साह र उमङ्ग ल्याओस् । यस वर्ष राष्ट्र निर्माण र समस्त नेपालीको उन्नति एवं प्रगति होओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”
प्रकाशित मिति : 08:15









