३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

सम्पत्ति विवरण सुनेर जिब्रो टोक्नेहरूका लागि सस्मितको सन्देश

३० चैत, काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरण सुनेर जिब्रो टोक्नेहरूका लागि नयाँ सन्देश दिनुभएको छ । फेसबुक मार्फत उहाँले परदर्शिताको कक्षा लिने कोशिश गर्नुभएको छ । आफ्नो सम्पत्ति विवरणबारे थप व्याख्या गर्दै पोखरेलले पारदर्शिताको पाठ पढाउने प्रयास गर्नुभएको हो ।

dainiki.com

यस्तो छ उहाँको फेसबुकको टिप्पणी

पारदर्शिता, पारदर्शिता, पारदर्शिता।
म त्रिभुवन विश्वविद्यालय अन्तर्गत “सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण” विषयको विद्यार्थी पनि हुँ। भ्रष्टाचार निवारणका लागि सबैभन्दा शक्तिशाली अस्त्र पारदर्शिता नै हो भन्नेमा मेरो दृढ विश्वास छ।

यसै मान्यताअनुसार मैले आफ्नो सम्पत्ति विवरण यथासम्भव पूर्ण रूपमा पारदर्शी बनाउने प्रयास गरेको छु। मैले केवल आफ्नो व्यक्तिगत सम्पत्ति मात्र होइन, बुवा, आमा तथा मामाघर (मावली) पक्षसम्मका सम्पत्तिहरू समेत खुलाएर प्रस्तुत गरेको छु। मेरो मात्र होइन, बुवाको सवारीसाधनसमेत उल्लेख गरेको छु। प्राविधिक रूपमा हेर्दा आफ्नो व्यक्तिगत सम्पत्ति मात्र देखाउँदा पनि पर्याप्त हुन्थ्यो, तर मैले पूर्ण पारदर्शिताको अभ्यास गर्दै सबै विवरण सार्वजनिक गरेको हुँ। किनभने मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमान्दार मेहनतको कमाइ हुन्।

मेरो बुवाको सन्दर्भमा पनि स्पष्ट पार्न चाहन्छु। उहाँले नेपाल राष्ट्र बैंक मा करिब ३० वर्ष सेवा गर्नुभयो र कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गर्नुभयो। साथै, उहाँ अन्तर्राष्ट्रिय मुद्रा कोष, वाशिङ्टन डी.सी. मा Executive Director का सल्लाहकारका रूपमा समेत कार्यरत रहनुभएको थियो। उहाँको उच्च नैतिकता र इमान्दारिताप्रति म सधैं गर्व गर्छु, र यही मूल्यहरूले मलाई पनि मार्गदर्शन गरेका छन्।

काठमाडौंको जग्गा खरिदको विषयमा, त्यो समय आना अनुसारको मूल्य आजको तुलनामा निकै कम थियो। हाल ती सम्पत्तिहरूको मूल्य ५० गुणाभन्दा बढीले वृद्धि भएको छ, जुन केवल हाम्रो मात्र होइन, समग्र बजार प्रवृत्तिको परिणाम हो। पारदर्शितालाई ध्यानमा राख्दै मैले खरिद मूल्य वा सरकारी मूल्य होइन, हालको चलनचल्तीको बजार मूल्य नै उल्लेख गरेको छु।

अन्त्यमा, म यो पनि स्वीकार गर्दछु कि म एक हिसाबले Privileged पृष्ठभूमिबाट आएको व्यक्ति हुँ। तर आजसम्म, आधारभूत शिक्षाबाहेक मैले कहिल्यै पनि बुवा आमा को सम्पत्तिमा निर्भर भएर विलासिता गरेको छैन। म स्नातक दोस्रो वर्षदेखि नै पार्ट टाइम अनलाइन काम गर्न थालेको र स्नातक चौथो वर्षमा फुल टाइम रूपमा काम गरेको व्यक्ति हुँ। मैले आफ्नै आम्दानीबाट आफ्ना खर्चहरू व्यवस्थापन गरेको छु। मेरो विवरणमा देखाइएको ऋणसमेत, बुवा आमा को आर्थिक सहयोग बिना आफ्नै गाडी खरिद गर्नका लागि लिएको हो।

PAN नम्बरको विषयमा पनि स्पष्ट पार्न चाहन्छु, मसँग वैध PAN नम्बर छ। तर उक्त सम्पत्ति विवरण सार्वजनिक रूपमा प्रकाशित गर्ने योजना भएकाले व्यक्तिगत सुरक्षाका कारण PAN नम्बर समावेश नगरेको हुँ।

पारदर्शिता केवल शब्द होइन, व्यवहारमा देखिनुपर्छ भन्ने मेरो विश्वास हो। मैले त्यसै अनुरूप आचरण गर्ने प्रयास गरेको छु, र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछु।

प्रकाशित मिति : 22:53