तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुख अर्यालको निर्देशन
३० चैत, काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले संसद् भवन निर्माणप्रति चासो व्यक्त गर्नुभएको छ । सहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग आज छलफल गर्दै उहाँले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो ।
छलफलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधिसभाका उपसभामुख रूबीकुमारी ठाकुर र राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारीसमेत उपस्थिति हुनुहुन्थ्यो ।
विसं २०७६ असोज १८ मा संसद् भवन निर्माणका लागि तुन्डी शेख जेभीसँग रु सात अर्ब ९४ करोडमा सम्झौता भएको थियो । प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म छ पटक समय थप भइसकेको छ । पछिल्लो सम्झौताअनुसार आगामी जेठ ९ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।
हालसम्म भवनको करिब ९४ प्रतिशत निर्माण सम्पन्न भइसकेको सहरी विकास मन्त्रालयले जनाएको छ । भवनको इन्टेरियर ठेक्का केसी श्यामसुन्दर बानियाँ जेभीसँग रु दुई अर्ब ३४ करोड र छाना निर्माणका लागि चेनलिङ्क इञ्जिनियरिङसँग रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता भएको छ ।
प्रकाशित मिति : 17:43









