३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

सेयर बजारमा मन्त्रीहरूकाे आकर्षणः कसको कुन कम्पनीमा लगानी कति ?

३० चैत, काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।सरकारका प्रमुख र मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उहाँहरूको उल्लेख्य लगानी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत विभिन्न कम्पनीहरूमा देखिएको छ ।

सार्वजनिक गरिएको विवरणअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको विभिन्न कम्पनीमा करोडौँ रुपैयाँ सेयर लगानी रहेको देखिन्छ । वाग्लेको विभिन्न पाँच कम्पनीमा सेयर रहेको विवरणमा उल्लेख छ ।

अर्थमन्त्री वाग्लेको सानिमा मिडल तमोर हाइड्रोमा ७१,०९३ कित्ता, सांग्रिला विकास बैंकको प्रमोटर सेयर २५,७६२ कित्ता, नेशनल फण्ड म्यानेजमेन्टमा ९० लाख रुपैयाँ, ठुलो खोला जलविद्युतमा ६० लाख र अपर मादी जलविद्युतमा ३ करोड रुपैयाँ बराबरको लगानी रहेको छ ।अर्थमन्त्री वाग्लेले उक्त सेयर अन्तर्राष्ट्रिय रोजगारी र निजी निवास बिक्री गरेर खरिद गरेको उल्लेख गर्नुभएकाे छ ।

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालको विभिन्न कम्पनी र बैंकहरूमा लगानी रहेको पाइएको छ । खनालको पिक एण्ड ड्रपमा ३३ प्रतिशत, रिग्पा इन्टरनेशनलमा १०० प्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

साथै बीपीडब्लु माइक्रोफाइनान्समा २५६० कित्ता, ओम मेघश्री फर्मास्युटिकल्समा ५००० कित्ता, ग्लोबल आइएमई र नबिलमा १५९ कित्ता र अन्यमा १७३ कित्ता सेयर रहेको छ । उहाँकाे परिवारका सदस्यहरूको नाममा पनि ठुलो मात्रामा सेयर देखिएको छ । शिशिर खनालकी श्रीमती अच्युता अधिकारीको नाममा १५ कम्पनीको सेयर रहेको विवरणमा उल्लेख छ ।

अच्युताको नाममा चन्द्रागिरी हिल्सको ३० कित्ता, जोशी हाइड्रोपावरको २०० कित्ता, मुक्तिनाथ विकास बैंकको ११२ कित्ता, नेपाल बैंकको २०० कित्ता, नेशनल हाइड्रोपावरको १०० कित्ता, नबिल सिपको ४६३३ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १०० कित्ता, नेपाल रिपब्लिक मिडियाको १२५ कित्ता, राधी हाइड्रोपावरको २४ कित्ता, समता लघुवित्तको २० कित्ता, सुपरमादी हाइड्रोपावरको १०० कित्ता, शिवश्री हाइड्रोपावरको १५० कित्ता, युनियन हाइड्रोपावरको २०० र उन्नती सहकार्य लघुवित्तको ७० कित्ता सेयर रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूमा कुल २०,९७८ कित्ता सेयर रहेको छ । जसको वर्तमान मूल्य १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँ बराबर देखाइएको छ ।

गृहमन्त्री सुधन गुरुङसँग विभिन्न कम्पनीको ४ करोड ३० लाख रुपैयाँ बराबरको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको विभिन्न कम्पनीमा १ लाख बराबरको सेयर लगानी रहेको छ । यस्तै, स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहेताको विभिन्न कम्पनीमा दुई सय भन्दा बढी कित्ता सेयर रहेको उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको भगवती हाइड्रोपावरमा ६५२ कित्ता र एसएसआईएसमा १० हजार कित्ता सेयर लगानी रहेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको विभिन्न कम्पनीमा २ लाख ५० हजार रुपैयाँ बराबरको सेयर लगानी रहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको विभिन्न कम्पनीको ३ करोड ३८ लाख ३५ हजार ९०८ रुपैयाँ बराबरको सेयर लगानी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : 14:39