समस्याग्रस्त कोशी सहकारीमा बचत रकम फिर्ता प्रक्रिया सुरु
३० चैत, काठमाडाैं । समस्याग्रस्त अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साना बचतकर्ताकाे बचत फिर्ता गरेकाे छ । सुनसरीको इटहरीमा कार्यालय रहेको अम्बे कोशी सहकारीमा २० हजार रुपैयाँ भन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भएको हो ।
कोशी प्रदेश सरकारले सहकारीलाई २०८१ पुस २३ गते समस्याग्रस्त घोषणा गरेको थियो । त्यसअघि पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरिएको थियो।
समितिका अध्यक्ष थापाका अनुसार २० हजार रुपैयाँभन्दा कम बचत भएका बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर बचत फिर्ताको प्रक्रिया सुरु भएको हो । उहाँका अनुसार, २८७ साना बचतकर्ताको २८ लाख ५७ हजार रुपैयाँ बचतकर्ताको बैंक खातामा पठाइएको छ ।
समस्याग्रस्त अम्बे कोशी सहकारीको व्यवस्थापनको जिम्मा प्रदेश सरकारले गठन गरेको समितिले लिएपछि सहकारीले लगानी गरेको ऋणमध्ये १ करोड ८७ लाख रुपैयाँ असुल गरेको थियो ।
सहकारीले असुल गर्नुपर्ने ऋण ४२ करोड ६० लाख भन्दा बढी छ । २४ करोड ८८ लाख रुपैयाँ बचत फिर्ताका लागि समितिमा निवेदन परेको छ ।
प्रकाशित मिति : 14:08









