२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

दुस्मनहरूलाई देशैभर घेरा हालेर आक्रमण गर्ने एमालेको घोषणा (भिडियो)

२६ चैत, काठमाडौँ । नेकपा (एमाले)ले दुस्मनहरूलाई घेरा हालेर आक्रमण गर्ने भएको छ । संसदीय दलको नेता समेत रहनुभएको एमाले कार्यबाहक अध्यक्ष रामबहादुर थापा बादलले बुधबार कास्कीमा आयोजित कार्यकर्ता भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओली र एमालेका दुस्मनहरूलाई घेर हालेर आक्रमण गर्ने घोषणा गर्नुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि वडावडा र पालिकापालिकाबाट घेरा हालेर दुस्मनहरूलाई आक्रमण गर्ने र सिंगो देश उचाल्ने चेतानी बादलको छ । उहाँले कार्यकर्तालाई प्रशिक्षित गर्दै सामान्य भेलाको रूपमा नलिन र आत्मसमर्पण गरेर, गिडगिडाएर र भिख मागेर मुक्ति नपाइने बताउनुभयो ।

बादलले भन्नुभयो, ‘हरेक जिल्लाजिल्लाबाट हामी आक्रमण गर्दैछौँ हाम्रा दुस्मनहरूलाई । हाम्रा अध्यक्षलाई रिहाइ गर्नको निम्ति । हामी २८ गते पालिकापालिकाबाट आक्रमण गर्छौँ । पालिकापालिकाबाट घेरा हाल्छौँ हाम्रो दुस्मनहरूलाई । हामी ३ गते वडा वडाबाट घेरा हाल्छौँ । झण्डै सात हजार वडाबाट एकै पटक आक्रमण गर्छौँ । सिंगो देशलाई उचाल्छौँ । आन्दोलित गर्छौँ । त्यसकारण तपाईहरूले यसलाई सामान्य भेलाको रूपमा नबुझ्नुहोला । वर्ग संघर्षको रूपमा बुझ्नुपर्छ । किनकी यो सिंगो इतिहास नै वर्ग संघर्षको इतिहास हो । वर्ष संघर्षले नै समाजलाई बदल्छ । आत्मसमर्पण गरेर, गिडगिडाएर र भिख मागेर मुक्ति पाइदैन् । हामीले दुस्मनलाई अनुनय विनिनय गरेर मलाई छोडिदेउ मलाई माफ गरिदेउ भन्ने होइन ।’

dainiki.com

यसअघि प्रतिनिधिसभाको पहिलो बैठकमा एमाले संसदीय दलको नेताको हैसियतमा गरेको भाषणको विवाद नसकिदै बादलले देशैभरबाट दुस्मनहरूलाई घेरा हालेर आक्रमण गर्ने घोषणा गर्नुभएको हो । यसले एमालेमा फेरि विवाद सुरू हुने भएको छ ।

यसैबीच उहाँले उपाध्यक्ष विष्णुप्रसाद पौडेलमाथि पनि गम्भीर आरोप लगाउनुभएको छ । बादलले पाैडेलतर्फ संकेत गर्दै आफूले संसदीय दल नेताको हैसियतमा संसद्मा गरेको सम्बोधनले देशभित्र र बाहिरका पार्टीका दुस्मनहरू एक्स्पोज भएको बताउनुभयो । उहाँले पौडेलको नामै नलिइ भन्नुभयो ‘अस्ति संसद्को पहिलो बैठकमा मैले दलको नेताको हैसियतमा जे कुराहरू भनेँ, त्यो कुरालाई लिएर केन्द्रीय सचिवालय बैठक बस्यो र, केन्द्रीय सचिवालयले फेरि अर्को एउटा वक्तव्य जारी गर्‍यो । त्यो वक्तव्य आइसकेपछि त्यसले अर्को कन्फ्युजन क्रिएट गरेको छ । त्यो वक्तव्य दलको नेताले मैले व्यक्त गरेको थिएँ, त्यसले भित्र पनि एउटा कन्फ्युजन क्रिएट गरेको देखियो । पार्टीको उपाध्यक्षले सार्वजनिक रूपमा एउटा स्टेटमेन्ट जारी गर्नुभयो ।’

बादलको धारणाप्रति असहमति राख्दै उपाध्यक्ष पौडेलले फेसबुकमा टिप्पणी लेख्नुभएको थियो । त्यही टिप्पणीप्रति संकेत गर्दै बादलले भन्नुभयो, ‘को–को मान्छेहरू त्यो स्टेटमेन्टबाट उत्तेजित भएर, भित्र लुकेका को–को मान्छेहरू बाहिर देखिए । किनभने त्यो स्टेटमेन्टले पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्तिलाई एक्सपोज गरेको मात्र हो ।’

उहाँले एमालेको दुस्मन को भन्ने कुरा भने स्पष्ट खुलाउनु भएको छैन । सरकारले ज्यान मुद्दामा ओलीलाई थुनेको र ओलीलाई निकाल्ने कुरा गरेका कारण उहाँले सरकारलाई नै दुस्मन मानेको अनुमान त गर्न सकिन्छ तर यही हो भन्ने परिस्थिति भने रहेको छैन । र पार्टी भित्रका पनि दुस्मनहरू एक्सपोज भएको भन्ने कुराहरू सोही मन्तव्यमा राख्नुभएको कारणले उपाध्यक्ष विष्णु पौडेलको समूह पनि आक्रमणमा पर्न सक्ने अनुमान गरिएको छ । यसअघि एमाले मुख्यालयमै महासचिव शंकर पोखरेल समूहको प्रशिक्षण लिएका युवाहरूले उपाध्यक्ष पौडेल निकटका केन्द्रीय सदस्य खिमलाल भट्टराई माथि दुर्व्यवहार गरेका थिए । त्यसदिन एमाले मुख्यालयमै करिब दर्जन पत्रकार समेत कुटिएका थिए ।

यसअघि बादलले संसदमा दिएको अभिव्यक्ति पार्टी भित्रकै नेताहरूको आलोचनाको शिकार बनेपछि सचिवालय बैठकले सच्याउने निर्णय गरेको थियो । बादलले त्यतिखेर आफूले लेखेर दिएको पढेको पनि बताउनुभएको थियो । बुधबार भने उहाँले त्यो लिखित भाषण पार्टीको विचार भएको दाबी गर्नुभयो ।

प्रकाशित मिति : 07:33