२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

पक्राउ पुर्जीपछि देउवाको बोली फुट्यो: सम्पत्तिबारेको प्रचार भ्रामक

२५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति आपत्ति जनाएका छन्।

देउवाले एक वक्तव्य जारी गर्दै उक्त विषयमा भइरहेको प्रचारबाजी भ्रामक र झुटा रहेको दाबी गरेका छन्। उनले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिसकेको जानकारी दिएका छन्।

उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा पारदर्शिताप्रति आफू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको बताएका छन्।

देउवाले आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन लागू गर्न भूमिका खेलेको र प्रधानमन्त्री हुँदा २०५९ सालमा भ्रष्टाचार निवारण ऐन लागू गरिएको स्मरण गराएका छन्।

हाल स्वास्थ्य उपचारका लागि आफू र परिवार विदेशमा रहेको जानकारी दिँदै उनले समयक्रमसँगै वास्तविकता सार्वजनिक हुने बताएका छन्। साथै, अतिरञ्जित विवरणका आधारमा भ्रममा नपर्न सबैमा आग्रह गरेका छन्।

प्रकाशित मिति : 19:57