२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

नाइमा प्रतिनिधिमण्डलले भेट अर्थमन्त्री, अटोमोबाइल क्षेत्र सुधारको माग


२५ चैत, काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी अटोमोबाइल क्षेत्र सुधारका विभिन्न सुझाव प्रस्तुत गरेको छ।

भेटका क्रममा नाइमाले अटोमोबाइल क्षेत्रलाई विलासिताभन्दा आवश्यकताको रूपमा हेर्नुपर्ने बताउँदै स्थिर र पूर्वानुमान गर्न सकिने नीतिगत वातावरण आवश्यक रहेकोमा जोड दिएको छ। करको भार घटाउने, कर संरचना सरल बनाउने र सवारी खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा तथा २० प्रतिशत डाउन पेमेन्ट कायम राख्ने व्यवस्था जारी राख्नुपर्ने माग राखेका छन्।

नाइमाले भन्सार जाँचपास भइसकेपछि पनि फरक व्याख्याका आधारमा बेरुजु उठ्ने समस्या रहेको उल्लेख गर्दै स्पष्ट र एकरूप नीति आवश्यक रहेको बताएको छ। साथै भन्सार प्रक्रिया सहज बनाउने, परीक्षण पूर्वाधार विकास गर्ने, यातायात ऐन पुनरावलोकन गर्ने, डिजिटल प्रणाली विस्तार गर्ने र सडक सुरक्षा तथा प्रदूषण नियन्त्रणमा ध्यान दिनुपर्ने विषय पनि उठाइएको छ।

यसका साथै ‘मेक इन नेपाल’ अन्तर्गत सवारी एसेम्बलिङ उद्योगलाई प्रोत्साहन गर्नुपर्ने र दीर्घकालीन नीतिगत स्थिरता सुनिश्चित गर्नुपर्ने माग नाइमाले राखेको छ। विद्युतीय सवारीका लागि स्पष्ट र प्रोत्साहनमुखी नीति बनाउन तथा हाइब्रिड सवारीलाई उचित वर्गीकरण गरेर सन्तुलित नीति लागू गर्न पनि जोड दिइएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नाइमाका सुझावहरू सान्दर्भिक रहेको बताउँदै निजी क्षेत्र अर्थतन्त्रको मुख्य आधार भएको उल्लेख गरेका छन्। उनले सरकार निजी क्षेत्रमैत्री वातावरण बनाउन सकारात्मक रहेको र कर प्रणालीलाई व्यवहारिक बनाउने दिशामा काम भइरहेको जानकारी दिए। साथै प्रस्तुत सुझावलाई आगामी नीति तथा कार्यक्रम तथा बजेटमा समेट्ने प्रतिबद्धता पनि जनाए।

यसै क्रममा नाइमा टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालसँग पनि भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा छलफल गरेको छ। मन्त्री लम्सालले अटोमोबाइल क्षेत्रले राजस्व, रोजगारी र आर्थिक गतिविधिमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै कर राजस्वको केही हिस्सा सम्बन्धित क्षेत्रमै पुनः लगानी गर्ने नीति ल्याउन पहल भइरहेको जानकारी दिए। उनले नाइमाका सुझावहरू कार्यान्वयनतर्फ अघि बढाइने पनि बताएका छन्।

प्रकाशित मिति : 13:32