२४ चैत्र २०८२, मंगलवार | Tue Apr 7 2026

मध्यपूर्व द्वन्द्वको असरः भारतले मल आयात बढाउँदै

२४ चैत, नयाँ दिल्ली । मध्यपूर्व क्षेत्रमा उत्पन्न परिस्थितिका कारण आपूर्ति अवरोध भएपछि भारतले २५ लाख मेट्रिक टन युरिया आयात गर्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ ।

सरकारी स्वामित्वको इन्डियन पोटाश लिमिटेडले यससम्बन्धी टेन्डर जारी गरिसकेको छ, जसका लागि आवेदन दिने अन्तिम मिति अप्रिल १५ तोकिएको छ ।

भारतले युरियाको माग पूरा गर्न ठूलो मात्रामा अन्तर्राष्ट्रिय बजारमा निर्भर रहँदै आएको छ । मनसुन सुरु भएसँगै र गर्मी सिजनको बाली रोपाइँ सुरु हुने भएकाले यसको माग अझ बढ्ने अपेक्षा गरिएको छ ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति शृङ्खला प्रभावित भएको छ । यसले प्रमुख निर्यातक देशहरूबाट मल आपूर्ति अवरुद्ध हुनुका साथै हर्मुज जलडमरूमध्य हुँदै हुने समुद्री यातायातमा पनि कमी आएको छ । उक्त समुद्री मार्ग अवरुद्ध हुँदा भारतमा एलपीजी अभाव देखिएको छ भने विश्व बजारमा कच्चा तेलको मूल्य पनि तीव्र रूपमा बढेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १७:४२