फेक रेस्क्युको मास्टरमाइन्ड सिंहलाई उन्मुक्ति दिने सरकारी वकिलको जिम्मेवारी खोसियो
१९ चैत, काठमाडौँ । फेक रेस्क्युको मास्टरमाइन्ड मानिएका माउन्टेन हेलिकोप्टर सर्भिसका प्रबन्ध निर्देशक राजेन्द्र बहादुर सिंहलाई उन्मुक्ति दिने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरी शर्मा काफ्लेको जिम्मेवारी खोसिएको छ । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बद्नाम बनाएको ‘फेक रेस्क्यु’ धन्दाको प्रमुख पात्र मानिएका सिंहलाई उन्मुक्ति दिन शर्माले भूमिका खेलेका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) करिब २ महिना लामो अनुसन्धान गरि सिंहसहित ११ जना पक्राउ प्रतिवादीसहित ३३ जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । तर शर्माले सिंहलाई उन्मुक्ति दिएर मुद्दा नै कमजोर बनाएर अदालत लगेका थिए ।

सरकारी वकिल कार्यालयले पेश गरेको अभियोग पत्रमा नै सिंहमाथि आपराधिक गतिविधि गरेको पुष्टि भएको उल्लेख गरिएको थियो । तर, सरकारी वकिल कार्यालयले नै गरेको ठहर विपरित प्रतिवादीको सूचिबाट उनको नाम गायब पारी लाभ नलिएको भन्दै उन्मुक्ति दिइएको थियो । काफ्लेले फेक रेस्क्यु सम्बन्धी अभियोजन कम्जोर बनाएको सुचना प्रधानमन्त्री कार्यालयसम्म पुगेपछि उनलाई कामकाजका लागि भन्दै महान्यायधिवक्ता कार्यालय तानिएको छ ।
सकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा अडियो कुराकानीकै आधारमा सिंहले अपराध गरेको पुष्टि भएको दाबी गरेको थियो । ‘उक्त अडियो कुराकानीबाट प्रतिवादी राजेन्द्र बहादुर सिंहले तथ्यांक वा प्रमाण लुकाउन र अनुसन्धानलाई प्राभावित पार्न निर्देशन दिई आपराधिक समूहका लागि आपराधिक समुहसँग मिलेर आपराधिक काम कारबाहीमा सहभागी हुने सघाउ पुर्याउने, प्रमाण संकलनमा अवरोध गर्ने र प्रमाण लुकाउनको लागि दबाव दिने अवरोध गरी आपराधिक साँठगाँठ गरेको पुष्टि भएको’ भनि ठहर गरिएको छ ।
सरकारले शर्माले सिंहको समूहसँग आर्थिक लेनदेन गरेको आशंकामा उनीमाथि छानविन गर्ने तयारी समेत गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार २०:१७













