१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

१६ चैत, काठमाडौं । प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का बिरामी परेपछि अस्पताल भर्ना गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा रहेका खड्कालाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको विभागका एक अधिकृतले जानकारी दिएका छन्।

विभागले अदालतबाट सात दिनको म्याद लिएर उनलाई ललितपुरस्थित प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो। सोमबार मध्यराति करिब साढे १२ बजेतिर अचानक बान्ता भएपछि उनलाई तत्काल नर्भिक अस्पताल लगिएको थियो।

नर्भिक अस्पतालमा प्रारम्भिक उपचारका क्रममा पनि अवस्था सुधार नदेखिएपछि चिकित्सकले थप उपचारका लागि उनलाई शिक्षण अस्पताल रिफर गरेका थिए। हाल शिक्षण अस्पतालमा उनको उपचार भइरहेको जनाइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार ११:५०