ओली र लेखकलाई आज अदालतमा लगिँदै
१५ चैत, काठमाडौं । प्रहरीको नियन्त्रणमा रहनुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालतमा पेस गरिने भएको छ ।
शनिबार जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा पक्राउ पर्नुभएका एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गरिन लागेकाे हाे ।
ओलीलाई डाक्टरको निगरानीमा राख्नुपर्ने भएकाले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमै राखिएको छ भने लेखकलाई त्यहीँको प्रहरीको २ नम्बर गणमा राखिएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गरी सिफारिसअनुसार दुवैलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो।
आयोगको सिफारिसअनुसार प्रहरीले अनुसन्धान अघि बढाउनेछ र अदालतमा मुद्दा दर्ता गर्नेछ। तर उहाँहरूलाई थुनामा राख्ने वा नगर्ने निर्णय अदालतले म्याद थपपछि गर्नेछ।
प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार १०:४१














