१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

बालेन प्रधानमन्त्री भएको २४ घण्टा नबित्दै सरकारविरूद्ध एमाले सडकमा

१४ चैत, काठमाडाैँ । बालेन्द्र शाह बालेन प्रधानमन्त्री भएको २४ घण्टा नबित्दै संसदको तेस्रो दल नेकपा एमाले सरकारविरूद्ध सडकमा निस्कने भएको छ । एमाले सचिव महेश बस्नेतले एमालेले प्रदर्शन गर्ने घोषणा गर्नुभएको छ । शनिबार बिहान फेसबुक मार्फत उहाँले यस्तो घोषणा गर्नुभएको हो ।

यस्तो छ बस्नेतको टिप्पणी

राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्वपूर्ण सूचक मानिन्छ। नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो। तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ।

बालेन सरकारद्वारा सुधन उरुङ्गजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ।

सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ।

प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं। अहिले विहान ८:३० वजे बस्ने सचिवालयको बैठक पछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ।

dainiki.com

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार ०७:२४