२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

जनतासँग गरिएका वाचा पूरा हुन्छः मन्त्री अधिकारी

१ फागुन, काभ्रेपलाञ्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार समृद्धिको लडाइँमा विजयी हुने बताउनुभएको छ । सोनाम ल्होछार सांस्कृतिक महोत्सव–२८५५ लाई तेमाल गाउँपालिका–५ नारायणस्थानमा मङ्गलबार सम्बोधन गर्दै मन्त्री अधिकारीले भन्नुभयो, “हामी जनताको स्वाभिमान उच्च राख्ने काम गर्दैछौँ, सरकार समृद्धिको यात्रामा विजयी हुन्छ ।”

मन्त्री अधिकारीले वर्तमान सरकार मुलुकको समृद्धि, विकास र अग्रगतिका लागि काम गरिरहेको बताउनुभयो । उहाँले सरकारले पाँच वर्षको अवधिमा जनतासँग गरेका वाचा पूरा गर्ने दाबी गर्नुभयो । मन्त्री अधिकारीले तेमाललाई सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले निर्माण गर्न लागिएको तामाङ राष्ट्रिय सङ्ग्रहालयका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा पूर्वराज्यमन्त्री सूर्यमान दोङ, सङ्घीय सांसदद्वय गङ्गाबहादुर तामाङ र नवीना लामा, प्रदेशसभा सदस्य रत्न ढकाललगायतले तामाङ राष्ट्रिय सङ्ग्रहालयका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताउनुभयो । महोत्सवमा गायक विश्व दोङ, सञ्जीव वाइवा, विशाल काल्ताङ, जितु लोप्चन, अविनाश घिसिङलगायतका कलाकारले विभिन्न साङ्गीतिक प्रस्तुति गर्नुभएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार ०९:५८