१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

पक्राउ पुर्जीसहित ओली निवासमा प्रहरी

१४ चैत, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नका लागि प्रहरी भक्तपुर पुगेको छ । उहाँहरूको पक्राउको लागि आवश्यक सबै प्रक्रिया पूरा भएको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू सयौँको संख्यामा भक्तपुरमा तैनाथ भएका छन । सबै कागजात तयार भएकाले पक्राउका लागि निवासमा पुगेको प्रहरीले जनाएको छ ।

गृहमन्त्री सुधन गुरुङ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने उपाय खोज्न मध्यरातमा पनि नक्सालमा दुई प्रहरी संगठनका प्रमुखसहितको छलफलमा जुट्नुभएको थियो ।  प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की  र सशस्त्र प्रहरीको महानिरीक्षक राजु अर्याल र कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानासहितको छलफल भएको थियो ।

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन तत्कालै गर्ने भनेर बालेन नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार मात्र निर्णय गरेपछि गृहमन्त्रीले निर्णय कार्यान्वयनकाबारेमा छलफल चलाउनुभएको थियो ।

आयोगको सिफारिस अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई तत्काल कारबाही गर्ने सरकारको तयारी छ। मुलुकी फौजदारी संहिताको दफा १८१ र दफा १८२ अनुसार कारबाही सिफारिस भएको थियो । सोही अनुसार कारबाही पक्रिया अघि बढेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार ०५:५१