ओली समात्ने उपाय खोज्दै गृहमन्त्री र दुई प्रहरी प्रमुख मध्यरातमा पनि छलफलमा
१३ चैत, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने उपाय खोज्न मध्यरातमा पनि नक्सालमा दुई प्रहरी संगठनका प्रमुखसहितको छलफलमा हुनुहुन्छ ।
प्रहरी प्रधान कार्यालयमा रहेको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निवासमा गृहमन्त्री र सशस्त्र प्रहरीको महानिरीक्षक राजु अर्याल र कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानासहितको छलफल चलिरहेको छ ।
कार्की र अर्यालसँगको छलफलपछि प्रधानमन्त्री भेट्न जानु भएको गृहमन्त्री गुरूङ यतिखेर पुनः कानुन मन्त्रलायका सचिवसहित दुबै प्रहरी संगठनका उच्च अधिकृतसहित छलफलमा जुट्नु भएको हो ।
छलफलमा उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की, सशस्त्र प्रहरीका एआईजी गणेश ठाडा मगर समेत सहभागी रहेको बुझिएको छ । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन तत्कालै गर्ने भनेर बालेन नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार मात्र निर्णय गरेपछि गृहमन्त्रीले निर्णय कार्यान्वयनकाबारेमा छलफल चलाउनुभएको हो ।
आयोगको सिफारिस अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई तत्काल कारबाही गर्ने सरकारको तयराी छ ।
प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार २३:५४














