प्रधानमन्त्री बालेन्द्र शाह पूजापाठ गरेर बालुवाटार प्रवेश
१३ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पूजापाठ गरेर सरकारी निवास बालुवाटार प्रवेश गर्नुभएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री शाह धार्मिक विधिअनुसार पूजाआजा सम्पन्न गर्दै बालुवाटारस्थित सरकारी निवासमा सर्नुभएको हो। प्रधानमन्त्री शाहले स्वयं सहभागी भएर पूजापाठ गर्नुभएको थियो ।
यसअघि मध्यान्ह राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। शपथ कार्यक्रममा सात शंखबाट शंखनाद, १०८ जना वटुकद्वारा स्वस्ति–शान्ति वाचन तथा १०८ बौद्ध भिक्षु लामाद्वारा मङ्गल पाठ गरिएको थियो।
शपथ ग्रहणपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँले मन्त्रालयका सचिव तथा उच्च तहका कर्मचारीहरूलाई ब्रिफिङ गर्नुभएको थियो। त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले चार वटा महत्वपूर्ण निर्णयसमेत गरेको छ।
यसैबीच निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले पनि शुक्रबार नै सरकारी निवास बालुवाटार छोड्नुभएको छ। शपथ ग्रहण समारोहमा सहभागी भएपछि उहाँ धापासीस्थित निजी निवासमा सर्नुभएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १९:०६














