५ जना सवार मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
१३ चैत, काठमाडौँ । काठमाडौँबाट दोलखाको लाप्चाका लागि आज बिहान करिब १०ः२५ बजे उडेको मुस्ताङ एयरको नाइनएन–एएनओ नम्बरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकोप्टर लाप्चामा अवतरण गरी पुनः उडेको केही मिनेटमै सम्पर्क टुटेको हो। प्रारम्भिक विवरणअनुसार उक्त हेलिकोप्टरमा क्याप्टेन सुरज थापा क्षेत्रीसहित ५ जना सवार थिए।
उडानपछि छोटो समयमै सम्पर्क विच्छेद भएपछि हालसम्म हेलिकोप्टरको अवस्थाबारे आधिकारिक पुष्टि हुन सकेको छैन। घटनाबारे जानकारी पाएसँगै सम्बन्धित निकायहरूले खोज तथा उद्धार कार्यको तयारी अघि बढाएका छन्।
हेलिकोप्टर दोलखाको लाप्चा क्षेत्र आसपासमै हराएको आशंका गरिएको छ। त्यस क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सम्भावित दुर्घटनास्थलसम्म पुग्न कठिनाइ भइरहेको जनाइएको छ। नेपाली सेनालाई सम्भावित क्षेत्रतर्फ परिचालन गरिसकिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
पुनश्चः समाचारमा यसअघि दोलखा हुनुपर्नेमा अन्थ्यथा भएकाले सच्याइएको छ । -सम्पादक
प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १५:१५














