कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले पुष्टि गरेको छः शङ्कर पोखरेल
११ चैत, काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भदौ २३ र २४ गतेको आन्दोलनको निष्पक्ष छानबिनका लागि गौरीबहादुर कार्की नेतृत्वको आयोग नबनेको प्रतिवेदनले पुष्टि गरेको टिप्पणी गर्नुभएको छ । महासचिव पोखरेलले बिहीबार सामाजिक सञ्जालमा लेख्दै आयोगको प्रतिवेदन एकपक्षीय भएको टिप्पणी गर्नुभएको हो।
‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ’, महासचिव पोखरेलले लेख्नुभएको छ, ‘कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।’
पोखरेलले निर्वाचन र जाँचबुझ आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको पनि बताउनुभएको छ । अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको भन्दै पोखरेलले अबको बाटो सजिलो हुन नरहेकाले राष्ट्र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिएको बताउनुभएको छ ।
यस्तो अवस्थामा नयाँ शक्ति र नेतृत्वलाई काम गर्ने अवसर दिनुपर्ने उहाँको धारणा छ । ‘जनताले प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्ने वातावरण बन्नु नै विवेकपूर्ण हुन्छ,’ उहाँले लेख्नुभएको छ । ‘तर पनि सत्य कुरा के हो भने– लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरूको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प पनि होइन ।’

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार ११:२५














