साइत हेराएर शपथ लिने परम्परा कत्ति मन परेनः अर्थमन्त्री खनाल
११ चैत, काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा आफूलाई कत्ति मन नपरेको बताउनुभएको छ ।
प्रधानमन्त्रीको रूपमा अघि सारिएका बालेन शाहले शुक्रबार दिउँसो शपथको साइत जुराएको भनेर सार्वजनिक भएका प्रसङ्गमा खनालले यस्तो टिप्पणी गर्नुभएको हो ।
बालेनले दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ लिने गरेर साइत जुराएको भन्ने खबर सार्वजनिक भएका छन् । अर्थमन्त्री खनालले आफूहरूले साइत नहेराइकनै शपथ लिएर पनि इतिहासमै पहिलोपटक स्वच्छ निर्वाचन गरेको उल्लेख गर्नुभएको छ ।
‘यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन । हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन’, मन्त्री खनालले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त ?’
खनाल जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वका सरकारका अर्थमन्त्री हुनुहुन्छ ।
प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १७:३९














