११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

बालेनको बयानः तत्कालीन सरकारले आतंकवादी क्रियाकलाप गरेको हो, सबै जिम्मा लिनुपर्छ

११ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले गत भदौ २३ र २४ गते भएको घटनाको सबै जिम्मेवारी तत्कालीन सरकार र  सरकार सहभागी दलले लिनुपर्ने बताउनुभएको छ । गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगसमक्ष बालेन दिएको बयानमा २३ भदौमा भएको जेनजीको शान्तिपूर्ण र्‍यालीमा समर्थन जनाएको तर आन्दोलनमा सहभागी नभएको जनाउनुभएको छ ।

‘२०८२ साल भदौ २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिएँ। २३ गतेको शान्तिपूर्ण र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन’ बालेनको बयानमा उल्लेख छ।

व्यवसायी र रेस्टुरेन्ट सञ्चालकहरूको आग्रहपछि महानगर प्रहरीले पानी वितरण गरेको उहाँले बताउनुभएको छ। ‘व्यवसायी र रेष्टुरेन्टहरूले आग्रह गरेपछि महानगर प्रहरी बलले पानी वितरण गरेको हो। २३ गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका सञ्चार माध्यमबाट थाहा पाएँ, मेरो सामाजिक सञ्जालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गर्‍यो,’ उहाँले भन्नुभएको छ, ’जनधनको रक्षाका लागि सामाजिक सञ्जालमार्फत संयमता अपनाउन अपिल गरेको थिएँ।’

घटनापछि महानगर प्रहरी बललगायत अन्य निकायसँग समन्वय गरेर घाइते र मृतकका परिवारलाई सहयोग गरिएको उहाँले बताउनुभएको छ २४ गतेको घटनालाई उनले दुःखद् बताउँदै सरकारको अत्यधिक बल प्रयोगको परिणाम हुन सक्ने टिप्पणी गर्नुभएको छ ।

उहाँले राष्ट्रपति र सेनापतिको आग्रहमा आन्दोलन शान्त पार्न भूमिका खेलेको बताउनुभएकाे छ । ‘सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो ।’

काठमाडौं महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदै गर्दा अनावश्यक रोकेपछि विरोधस्वरुप प्रतिकात्मकरुपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा ‘जलाइदिन्छु’ शब्द प्रयोग नभएको उहाँले बताउनुभएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १७:१८