वाम एकताको रागप्रति बास्कोटाको कटाक्ष: ‘मितको एकताले जनविश्वास आउँदैन’
११ चैत, काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय फेरि चर्चामा आएको वाम एकताको बहसप्रति तीखो टिप्पणी गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै वाम एकताको नाममा भइरहेको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
बास्कोटाले आफ्नो स्टाटसमा जनताले मत दिएर सरकार गठनको प्रक्रिया अघि बढिरहेका बेला केही व्यक्तिहरूले अनावश्यक विवाद सिर्जना गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ। उहाँले यस्तो गतिविधिलाई “मसीको प्रमाण खोज्दै हिँड्ने” प्रवृत्तिसँग तुलना गर्दै आलोचना गर्नुभएको हो ।

बास्कोटाले मितको एकता वा औपचारिक सहमतिबाट जनतामा विश्वास आर्जन गर्न नसकिने बताउनुभएको छ। उहाँले वाम आन्दोलनको सुदृढीकरणका लागि वास्तविक आवश्यकता संगठनको पुनर्गठन, आन्दोलनको पुनर्जागरण र नवीन नेतृत्वको निर्माण भएको बताउनुभएको छ ।
बास्कोटाले वाम शक्तिहरूले आत्ममूल्यांकन गर्दै सशक्त संगठन निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। उहाँले सतही एकताभन्दा दीर्घकालीन विचार र संगठनात्मक मजबुतीमार्फत् मात्र जनविश्वास कायम गर्न सकिने उल्लेख गर्नुभएको छ ।
प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार ११:४१













