११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

११ चैत, काठमाडाैं। टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फागुन २७ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आजसम्म मात्रै आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये १२ करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको हो। सो सेयर खरिदका लागि भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

स्थानिय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय, भोजपुर, प्रभु बैंकको भोजपुर, प्याउली, हटुवागढी र सिटिजन्स बैंक इन्टरनेसनलको भोजपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार ०९:१८