१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

१० चैत, काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क मोतीविन्दुको पहिचान तथा शल्यक्रिया गर्नका लागि समझदारी भएको छ । ग्लोबल आईएमई बैंकको कर्पोरेट कार्यालय कमलादीमा आज आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक प्राडा सन्दुक रुइटको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले हस्ताक्षर गर्नुभएको हो ।

समझदारी अनुसार तिलगङ्गा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकको निःशुल्क रूपमा मोतीविन्दुको पहिचान गरी शल्यक्रिया गरिनेछ ।

यस्तै, विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा विपन्न छात्राछात्रको आँखा परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क रूपमा चस्मा वितरण गरिनेसमेत समझदारी भएको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताउनुभयो ।

“हामीले यो सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई सातै प्रदेशमा समान रूपमा पु¥याउने प्रयास गरेका छौँ, हामी जहाँ व्यापार गछौँ, जहाँबाट नाफा कमाउँछौँ, त्यहीँ समाजप्रति हाम्रो सबैभन्दा ठूलो दायित्व पनि रहन्छ,” उहाँले भन्नुभयो ।

तिलगङगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा रुइतले नेपाली बैंकसँगको सहकार्यमा अवसर र चुनौती दुवै रहेको बताउँदै ग्लोबल आइएमई बैंकसँगको सहकार्यलाई दिगो हुने गरी काम गर्ने बताउनुभयो । उहाँले आफूहरूले कुनै पनि कार्यक्रममा पारदर्शीता र चुस्त व्यवस्थापनमा जोड दिने गरेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार २३:१८