१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

डेनमार्क र दक्षिण कोरियामा अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा सुरु

१० चैत, काठमाडाैं । नेपाल टेलिकमको मोबाइल प्रयोग गरी आजदेखि डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ । यसका लागि नेपाल टेलिकम र डेनमार्कको टेलिनोर डेनमार्क तथा दक्षिण कोरियाको एसके टेलिकम बिच सम्झौता सम्पन्न भएको छ ।

यो सेवा क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान–आरओसीमा पहिले देखि नै उपलब्ध छ । यस अनुसार अब ८ देशमा भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले यसका लागि ती देशका ९ सेवा प्रदायकसँग सम्झौता गरेको छ ।

विदेशमा समेत नेपाल टेलिकमको मोबाइल सेवा प्रयोग गरी नेपालकै जस्तो भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिने प्रविधिलाई रोमिङ सेवा भनिन्छ । अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवामा एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिन्छ ।

भोल्टी अर्थात भ्वाइस ओभर एलटीई नेपाल टेलिकमले राष्ट्रिय स्तरमा पहिले देखि नै उपलब्ध गराइरहेको सेवा हो । यसका लागि मोबाइलमा यो सेवा एक्टिभेट गरेको हुनुपर्छ भने मोबाइल सेट पनि यो सेवा चल्ने हुनुपर्छ ।

आफ्नो मोबाइलको स्क्रिनको माथिल्लो भागमा HD वा VoLTE लेखेको छ भने सो मोबाइल सेटमा भोल्टी सेवा प्रयोग गर्न सकिन्छ भन्ने थाहा हुन्छ । यदि छैन भने *444# डायल गरी’Activate VoLTE’ विकल्प छान्नु पर्छ । त्यसपछि यो सेवा सुचारु हुन्छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार १५:३१