१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

९ चैत, बागलुङ । दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी सडक निर्माण व्यवसायीले तीन वर्ष बित्दा पनि सम्पन्न गरेको छैन ।

एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्र्तगतो सो सडक स्तरोन्नति हुन नसक्दा स्थानीय समस्यामा परेका छन् । उक्त सडक २०७९ सालको भदौमा सम्झौता भएको थियो । सम्झौता अनुसार काम गरेको भएमा २०८१ सालको भदौमा हस्तान्तरण भइसक्नुपर्ने थियो । आठ किमि सडक कालोपत्रका लागि दुई पटक ठेक्का सम्झौता थप गरे पनि ७० प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णु लामिछानेले समयमै काम नसक्दा दोस्रो पटक म्याद थप गरेको जानकारी दिनुभयो । सडक निर्माणको जिम्मा वल्र्डवाइड/लोपूर्ण जेभी निर्माण कम्पनीले लिएको थियो । स्थानीयले गत कात्तिकमा निर्माण व्यवसायी विरुद्ध आन्दोलन गरेका थिए ।

सुरुमा भुक्तानीको समस्या देखाउँदै निर्माण व्यवसायीले काम गर्न आनाकानी गरेको थियो । २०७९ भदौमा २५ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । उक्त खण्डको सुरुको हरिचौर–मल्लसम्मको आठ किमि सडक स्तरोन्नति, ढलान र कालोपत्र गर्ने सम्झौता भएको थियो । उक्त सडक कालोपत्र भएपछि बागलुङको गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाहुँदै निसीखोला गाउँपालिका सिधा सडकमार्फत जोडिन सहज हुने छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार १४:४७