१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

९ चैत, चितवन । चितवनको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का अन्दाजी ३५ बर्षीया मीना रेग्मी रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक रिजालका अनुसार खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु२ख २८९४ नम्बरको ट्याङ्करले भित्री सडकबाट निस्किँदै गरेको ना५५प ०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरको पछाडी सवार रेग्मीको मृत्यु भएको हो । सो ट्याङ्करले रोकि राखेको ना ६५प ७८८३, ना५५प ८०८३ नम्बरको मोटरसाइकल र एउटा साइकललाई समेत ठक्कर दिएको थियो ।

स्कुटर चालक भरतपुर महानगरपालिका–७ का पूर्ण सापकोटा सामान्य घाइते हुनुभएको प्रहरी निरीक्षक रिजालले जानकारी दिनुभयो । राप्ती नगरपालिका–७ का २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार १७:५६