१० चैत्र २०८२, मंगलवार | Wed Mar 25 2026

अर्थविद् केशव आचार्यको निधन

९ चैत, काठमाडौं । अर्थविद् केशव आचार्यको निधन भएको छ । उहाँको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको आचार्यका छोरा शिखर आचार्यले राससलाई जानकारी दिनुभयो ।

आचार्यको शव अहिले चाबहिलस्थित ओम नर्सिङ होममा राखिएको र मङ्गलबार दाहसंस्कार गरिने उहाँले बताउनुभयो । गत मङ्गलबार स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि मेडिकेयर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उहाँलाई मस्तिष्कघातको उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो ।

आचार्यको छोरी अचला अमेरिकाबाट मङ्गलबार बिहान काठमाडौँ आइपुग्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकमा करिब तीन दशकभन्दा बढी सेवा गरेर कार्यकारी निर्देशकबाट अवकाश प्राप्त गर्नुभएका आचार्यले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको भूमिकासमेत निभाउनुभएको थियो । उहाँ मौद्रिक तथा वित्त नीतिका ज्ञाता मानिनुहुन्थ्यो ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार १६:२२