१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम घट्यो

९ चैत, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । आज नेप्से ५.०१ अंकले बढेर २९३६.५६ को बिन्दुमा बन्द भएको हो । सोमबार १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य घटेको छ । यस दिन ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५३ प्रतिशत बढ्यो । फाइनान्स ०.२०, हाइड्रोपावर ०.९६, लगानी ०.७२, माइक्रोफाइनान्स ०.४३ र अन्य समूह ०.०१ प्रतिशत बढे । त्यस्तै बैंकिङ ०.२७, विकास बैंक ०.५०, होटल तथा पर्यटन ०.८६, जीवन बीमा ०.४८, निर्जीवन बीमा ०.०४ र व्यापार समूह ०.५९ प्रतिशत घटेकाे छ ।

आज ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँको कारोबार भएको हो ।आज कुमारी बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६७ करोड २३ लाख ७८ हजार रुपैँया बराबरको कारोबार भएको छ ।

आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, भुजुङ् हाइड्रोपावर र सालपा विकास बैंकको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार १५:२४