२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

हिल्टन होटेल पुनर्बीमा प्रकरणः दुई इन्स्योरेन्स कम्पनी र ब्रोकरलाई कारबाही

९ चैत, काठमाडाैं । नेपाल बीमा प्राधिकरणले हिल्टन होटलको पुनर्बीमा प्रकरणमा नियम विपरीत काम गरेको भन्दै दुई इन्स्योरेन्स कम्पनी, एक ब्रोकर र एक अधिकारीलाई कारबाही गरेको छ।

प्राधिकरणले ‘हुलदंगा तथा आतंकवाद जोखिम’ सम्बन्धी पुनर्बीमामा निर्देशन विपरीत कार्य गरेको भन्दै नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालाई कबुलियत गरिएको, हिमालयन रि-इन्स्योरेन्स र दी ओरिएन्टल इन्स्योरेन्सलाई दुई–दुई लाख रूपैयाँ जरिवाना गरेको हो।

यस्तै, प्राधिकरणले एलियन्ट पुनर्बीमा ब्रोकर कम्पनीको इजाजतपत्र तीन महिनाका लागि निलम्बन गरेकाे छ । प्राधिकरणका अनुसार सम्बन्धित कम्पनीहरूले बीमा ऐन र निर्देशन विपरीत नियोजित रूपमा हिल्टन होटलको जोखिमको पुनर्बीमा हिमालयन रि–इन्स्योरेन्समा गरेका थिए।

तर, सो जोखिमको दायित्व भने सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीमा सार्ने प्रयास गरिएको देखिएपछि बीमा ऐन, २०७९ को दफा १३८ (४) अनुसार प्राधिकरणले कारबाही गरेको हो।

 गत भदौ २३–२४ मा भएको जेनजी प्रदर्शनका क्रममा हिल्टन होटलमा आगजनी हुँदा होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। सो घटनापछि करिब ६ अर्ब रूपैयाँ बराबरको बीमा दाबी परेको थियो।

प्रकाशित मिति : March 23, 2026 at 2:13 pm