१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

युरोपेली सङ्घकी प्रमुख अष्ट्रेलियामा, व्यापार सम्झौतामा जोड

९ चैत, सिड्नी । युरोपेली सङ्घकी प्रमुख उसुला फन डेर लेयन सोमबार अष्ट्रेलियामा पुगेकी छिन्, जहाँ वर्षौंदेखि वार्ता चलिरहेको स्वतन्त्र व्यापार सम्झौता टुंग्याउने आशा राखिएको छ ।

यो फन डेर लेयनको अष्ट्रेलियाको पहिलो यात्रा हो, र यो यात्रा मध्यपूर्व युद्धले उत्पन्न ऊर्जा असुरक्षाको पृष्ठभूमिमा भएको छ । उहाँ सोमबार सिड्नीमा अष्ट्रेलियाको राज्य प्रमुखसँग भेट गर्न र पारम्परिक स्वागत समारोहमा भाग लिन पुग्नुभएको हो, त्यसपछि उहाँ क्यानबेरामा पुगेर प्रधानमन्त्रीसँग भेट्ने र संसदलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

उहाँसँगै युरोपेली सङ्घका व्यापार आयुक्त पनि छन्, जसले लामो समयदेखि प्रतिक्षित स्वतन्त्र व्यापार सम्झौतामा अन्ततः हस्ताक्षर हुन सक्छ भन्ने अड्कलबाजीलाई गति दिएको छ ।

अष्ट्रेलियाले पहिले युरोपेली सवारीसाधनमा लगाइएको विलासितापूर्ण कर हटाउन सक्निे भनेको थियो । अष्ट्रेलियाको सबैभन्दा ठूलो निर्यात बजार चीन हो भने अमेरिकी लगानी सबैभन्दा ठूलो स्रोत हो । तर सन् २०२० मा बेइजिङसँगको विवाद र गत वर्षको अमेरिकी व्यापार करका कारण, क्यानबेराले कृषकहरूको लागि निर्यात बजार विविधिकरणमा जोड दिएको छ । युरोपेली सङ्घ अष्ट्रेलियाको तेस्रो ठूलो दुईतर्फी व्यापार साझेदार र विदेशी लगानीको दोस्रो ठूलो स्रोत हो ।

व्यापार मन्त्री डन फरेलले गत हप्ता युरोपेली सङ्घसँगको सम्झौताले पहिलो वर्षमा अष्ट्रेलियाको व्यापारमा १० अर्ब अष्ट्रेलियन डलर थप्ने बताउनुभएको छ । “यदि हामी यो सम्झौता टुंग्याउन सफल भयौं भने, उहाँहरू सम्भावित रूपमा हाम्रो दोस्रो ठूलो व्यापार साझेदार बन्न सक्दछन्,“ उहाँले भन्नुभयो ।

बैठकमा मध्यपूर्वको युद्ध पनि मुख्य मुद्दा हुनेछ, जसले तेलको मूल्य बढाएको छ । क्यानबेरामा, अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुख फतिह बिय्रोलले सोमबार यदि विवाद समाधान भएन भने विश्वले दशकौंमा नदेखेको ऊर्जा सङ्कटको सामना गर्न सक्ने बताउनुभयो । विदेशी इन्धनमा भारी निर्भर अष्ट्रेलियाले पनि विश्वव्यापी ऊर्जा सङ्कटको दबाब महसुस गरेको छ ।

ऊर्जा मन्त्री क्रिस बोवेनले सोमबार केही पेट्रोल पम्पमा इन्धन सकिएको भए पनि देश हालको अवस्थामा वितरण सीमामा नभएको बताउनुभयो ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार १३:०७