ससुराको सांसद सुनिश्चित गरेर गगनले कांग्रेस सभापतिबाट दिएको राजीनामा अस्वीकृत
८ चैत, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्ना ससुरा समेत रहनुभएको नेता अर्जुननरसिंह केसीको सांसद पद सुनिश्चित गरेपछि पार्टी सभापतिबाट दिनुभएको राजीनामा अस्वीकृत भएको छ ।
आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले थापाको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो । केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । शुक्रबार सुरु भएको बैठकमा उपसभापति शर्माले उक्त प्रस्ताव राख्नुभएको थियो ।
आइतबार बसेको बैठकले सभापति शर्माले राखेको प्रस्तावलाई बहुमतले स्वीकार गर्दै थापाको राजीनामा अस्वीकार गर्नेल निर्णय गरेको हो । योसँगै नेपाली कांग्रेसको सभापतिमा गगन थापाको निरन्तरता भएको छ । थापा भने पार्टीका तर्फबाट समानुपातिक सांसद छनाैट गरी सभापति पदबाट राजीनामा दिएर पोखरा लाग्नुभएको थियो ।
केन्द्रीय समितिको शुक्रबार र आइतबारको बैठकमा नदेखिनुभएको सभापति थापा अब पुनःकांग्रेसको बैठकहरूमा देखिनुहुनेछ । निर्वाचन परिणाम लगत्तै राजीनामा दिँदा समानुपातिक सांसदको चयनमा चलखेल हुनसक्ने भयले थापाले सांसद छानेपछिमात्र राजीनामा दिनुभएको कांग्रेस स्रोतले बताएको छ ।
प्रतिनिधि सभा निर्वाचन २०८२ बाट निर्वाचित भएको प्रतिनिधिसभामा जेष्ठ सदस्यको हैसियतले केसीले नै सबै सांसदहरूलाई सपथ गराउँदै हुनुहुन्छ । उहाँले भने चैत ११ गते राष्ट्रपति रामचन्द्र पाैडेलबाट सपथ लिने कार्यक्रम तय भएको छ ।
कुनै समय कांग्रेसको महामन्त्री पदमा ज्वाईं ससुरा नै प्रतिस्पर्धा समेत गर्नुभएको अर्जुननरसिंह केसी र गगन थापाले पछिल्लो समय एकअर्काको रक्षामा निकै कुटिल चाल चल्नुभएको छ ।
प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार २१:५०













